Section 22
निर्वाचन आचारसंहिता
(१) आयोगले निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न देहायका निकाय वा व्यक्तिले पालना गर्नु पर्ने आचारसंहिता बनाउन सक्नेछः–
(क) नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी,
(ख) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मी,
(ग) निर्वाचनको काममा संलग्न कर्मचारी,
(घ) राजनीतिक दल,
(ङ) उम्मेदवार तथा उम्मेदवारसँग सम्बन्धित व्यक्ति,
(च) सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम,
(छ) निजी तथा गैरसरकारी संस्था,
(ज) आयोगले तोकेका अन्य निकाय वा व्यक्ति ।
(२) आयोगले उपदफा (१) बमोजिम आचारसंहिता बनाउँदा सम्बन्धित सरोकारवालासँग परामर्श गर्नेछ ।
(३) उपदफा (१) बमोजिम आयोगले आचारसंहिता बनाउँदा खासगरी निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पर्ने गरी नेपाल सरकारले नयाँ नीति, योजना तथा कार्यक्रम घोषणा गर्न, जनशक्ति तथा साधन स्रोतको परिचालन गर्न तथा निर्वाचन प्रचार–प्रसारका लागि सरकारी सञ्चार साधनको प्रयोग गर्न नपाउने विषयमा आचारसंहिता बनाउन सक्नेछ।
(४) उपदफा (२) बमोजिम आयोगले बनाएको आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन गरिनेछ र त्यस्तोआचारसंहिताको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।